रामेछाप जिल्लाका स्थानीय तहहरुसँग खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण सम्वन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२ भदौ, २०८२
रामेछाप जिल्लाका स्थानीय तह तथा खानेपानी एवम् सरसफाइ सेवा प्रदायकहरुसँग खानेपानी तथा सरसफाइ सेवा महसुल सम्बन्धी विषयमा एकअन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। मिति 2082 साल श्रावण 27 गते आयोजना गरिएको उक्त कार्यक्रम आयोगका अध्यक्ष श्री रुद्रप्रसाद गौतमको अध्यक्षता, मन्थली नगरपालिकाका नगर प्रमुख श्री लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख श्री लवश्री न्यौपाने र प्रमुख जिल्ला अधिकारी श्री श्यामकृष्ण थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। आयोगका उपसचिव श्री सुमन अधिकारीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा आयोगका सदस्यहरु श्री कुलभुषण शेखर शर्मा र श्री यसोदा कार्कीको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा आयोगका अध्यक्ष गौतमले खानेपानी महसुल निर्धारणसम्बन्धी कानुनी व्यवस्था र स्थानीय तहको भूमिकाबारे प्रस्तुतीकरण दिनुका साथै खानेपानी तथा सरसफाइ सेवा सम्वन्धी सवालहरुबारे सहभागीहरुलाइ जानकारी दिनुभएको थियो।
अन्तर्क्रियामा सहभागीहरुले लिफ्टिङ प्रविधिबाट सञ्चालित आयोजनामा उच्च विद्युत महसुलका कारण सेवा दीगो बनाउन चुनौतीपूर्ण भएको बताएका थिए। साथै, महसुल निर्धारण अवैधानिक रूपमा भइरहेको, खानेपानी सेवामा प्रयोग हुने विद्युतमा अनुदान आवश्यक भएको र पानीका स्रोत संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने लगायतका सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा रामेछापका आठवटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, पत्रकार लगायत 40 भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा आयोगद्वारा “महसुल निर्धारण निर्देशिका” समेत हस्तान्तरण गरिएको थियो।